विद्यार्थीको सुझावका आधारमा शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गर्छौँ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझाव तथा गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन्।
मधेश प्रदेश भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्ने बताए।
मन्त्री पोखरेलले विद्यार्थीका सुझाव समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गर्दै नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिए। विद्यार्थीहरूले पाठ्यक्रमलाई व्यवहारिक तथा जीवनोपयोगी बनाउनुपर्ने, सीप विकासमा जोड दिनुपर्ने र विद्यालयको भौतिक तथा प्रविधिगत अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका छन्।
धनुषाबाट भदौ २६ गते सुरु भएको टोलीको मधेश यात्रा सप्तरीमा सम्पन्न भएको हो। भ्रमणका क्रममा शिक्षा क्षेत्रका स्थानीय समस्या र व्यावहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी लिइएको मन्त्री पोखरेलले बताए। उनका अनुसार संकलित सुझाव आगामी शिक्षा ऐन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणका लागि महत्वपूर्ण आधार बन्नेछ।
उनले मधेशमा गुणस्तरीय इन्जिनियरिङ तथा कृषि शिक्षाको विस्तार आवश्यक रहेको समेत बताए।