त्रिशूली–१ को सुरुङबाट १३ शव निकालियो
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका १३ कामदारको शव फेला परेको छ।
नेपाली सेनाका अनुसार शुक्रबार खोजी तथा उद्धारका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट एकैदिन १३ वटा शव निकालिएको हो। सुरुङभित्र ढलानका लागि तयार गरिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा सुरुमा ६ वटा शव फेला परेका थिए। त्यसपछि खोजीलाई निरन्तरता दिँदा थप ७ वटा शव भेटिएका हुन्।
सेनाले ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू सुरुङबाट बाहिर निकालेको जनाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीअघि आयोजनामा १ हजार ४३३ जना कामदार कार्यरत थिए। तीमध्ये ९३६ जना सम्पर्कमा आएका छन् भने ४९२ जना अझै सम्पर्कविहीन रहेको सेनाले जनाएको छ।
बाढीबाट आयोजनाका निर्माणाधीन संरचना तथा सुरुङमा ठूलो क्षति पुगेपछि नेपाली सेना र आयोजना प्रतिनिधिसहितको टोलीले सम्पर्कविहीन कामदारको खोजी जारी राखेको छ। त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनामा पनि खोजी तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।