संविधानको रक्षा गर्न एकजुट हुन ओलीको आह्वान
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
१२औँ संविधान दिवसका अवसरमा शनिबार जारी गरेको वक्तव्यमा ओलीले संविधान जारी भएलगत्तै मुलुकले नाकाबन्दीजस्तो कठिन परिस्थिति सामना गरेको स्मरण गर्दै त्यसले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको बताएका छन्।
ओलीले नेपालको संविधान दशकौँ लामो संघर्षको जगमा जननिर्वाचित संविधानसभाबाट बनेको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै यसले संघीय लोकतान्त्रिक गणतन्त्र, तीन तहको शासन प्रणाली तथा मौलिक हकलाई संस्थागत गरेको बताएका छन्।
उनले आफ्नो पार्टी नेतृत्वको सरकारले कानुन निर्माण र संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा अघि बढाएको दाबीसमेत गरेका छन्।
वक्तव्यमा ओलीले वर्तमान सरकारले संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि संकट उत्पन्न गरेको आरोप लगाएका छन्। उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिको स्वार्थअनुसार काम भइरहेको दाबी गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै संविधान पक्षधर शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन्।