वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहताल गाउँपालिका—४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाही रहेका छन् ।
गएराति ११ बजे वीरेन्द्रनगर नगरपालिका—९, पिपलडाँडा स्थित लाटिकोईली चोकबाट मंगलगढी चोकतर्फ आउँदै गरेको क.प्र.०२००२ प १३९९ नम्बरको उनको मोटरसाइकल अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किएको थियो ।
घाइते अवस्थामा उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार, कालागाउँमा उपचार सम्भव नहुने भएपछि उनलाई राति १२ बजेतिर नेपालगन्ज रिफर गरिएको थियो ।
‘न्युरो अस्पताल नेपालगन्जमा पुगेर उपचार भयो, तर शनिबार बिहान ९ः१५ बजे उपचार हुन नसकेको भन्दै पुनः कर्णाली प्रदेश कालागाँउ ल्याइएको थियो,’ बोहोराले भने, ‘यद्यपि उपचार सम्भव नभएपछि केहीबेरअघि १२ बजेतिर उनको मृत्यु भयो ।’