केरला सडक दुर्घटनामा ८ इन्जिनियरिङ विद्यार्थीको मृत्यु
भारतको केरलास्थित थ्रिसुर जिल्लाको एनएच–६६ राष्ट्रिय राजमार्गमा गैरकानुनी रूपमा पार्क गरी राखिएको ट्रकमा कार ठोक्किँदा आठ जना इन्जिनियरिङ विद्यार्थीको मृत्यु भएको छ।
तमिलनाडुको डिन्डिगुलका विद्यार्थीहरू सवार कार शुक्रबार राति करिब ११ : ४० बजे कैपमंगलमको पनमबिक्कुन्नुमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गुरुवायुरबाट कोडुङ्गलुरतर्फ जाँदै गरेको कार सडक किनारमा पार गरिएको महाराष्ट्र नम्बरको ट्रकको पछिल्लो भागमा ठोक्किएको थियो ।
प्रथम सूचना प्रतिवेदन (एफआईआर) अनुसार निर्माणाधीन सडक खण्डमा ट्राफिक डाइभर्सनका लागि ब्यारिकेड लगाइएको ठाउँ नजिकै ट्रक गैरकानुनी रूपमा राखिएको थियो। तीव्र गतिमा रहेको कारका चालकले डाइभर्सनको ब्यारिकेड देख्न नसक्दा यो दुर्घटना हुन पुगेको प्रहरीको भनाइ छ।
दुर्घटनामा ६ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनालाई नजिकैको अस्पताल पुर्याउनासाथ मृत घोषित गरिएको थियो। मृतकहरू डिन्डिगुलस्थित एक इन्जिनियरिङ कलेजका विद्यार्थी हुन् । प्रहरीले तीमध्ये ६ जनाको पहिचान खुलाएको छ। डिन्डिगुलका सूर्या, युवासञ्जित, विश्व र जोहुवा तथा मदुरैका सन्तोष र प्रसन्नाको पहिचान भएको छ। बाँकी दुई जनाको पहिचान खुल्न बाँकी छ।
स्थानीय बासिन्दा, दमकल र प्रहरीको टोलीले क्षतविक्षत कारबाट शवहरू बाहिर निकालेका थिए। मृतकका शवहरू थ्रिसुर मेडिकल कलेजको शव गृहमा राखिएको छ।
कैपमंगलम प्रहरीले ट्रक चालकविरुद्ध गैरजिम्मेवारपूर्ण तरिकाले ज्यान लिएको अभियोगमा मुद्दा दर्ता गरेको छ। दुर्घटनालगत्तै चालक फरार भएकाले उसको खोजी भइरहेको प्रहरीले जनाएको छ।
विद्यार्थीहरूको साथमा भेटिएका परिचयपत्रका आधारमा परिवारलाई खबर गरिएको छ। कतिपय परिवारलाई भने आफ्ना छोराहरू केरला पुगेको विषयमा जानकारी नै नरहेको प्रहरीले बताएको छ। मृतकका परिवार थ्रिसुर मेडिकल कलेज पुगेपछि शवको पोस्टमार्टम सुरु हुनेछ।