कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा, असोज १ देखि यातायात सञ्चालन गर्ने तयारी
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि निर्माण सुरु गरिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सकिएपछि केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिए पनि अहिले ट्र्याकमा नियमित आवतजावत बन्द गरिएको छ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार नयाँ ट्र्याकमा अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। करिब ३०० मिटर लामो ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ।
निर्माणको काम पूरा भएपछि असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको इन्जिनियर नेपालले बताए। हाल ग्राभेलिङसँगै ड्रेन निर्माण र सब–बेसको अन्तिम तह तयार गर्ने काम भइरहेको छ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार आइतबार ग्रेडिङको काम सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको छ। थप पहिरो नआए निर्धारित समयमै यातायात सञ्चालन गर्न सकिने जनाइएको छ।