जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन’ हुँदै
मुस्ताङको जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम छ।
सम्मेलनमा सहभागी हुन सातै प्रदेशका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ पुगेका छन्। अतिथिका लागि स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनका असर, अनुकूलन तथा स्थानीय तहको भूमिकाबारे छलफल हुनेछ। सम्मेलनस्थलमा स्थानीय कृषि उत्पादन प्रवर्द्धनका लागि ५० भन्दा बढी स्टल राखिएका छन्।
जलवायु परिवर्तनबारे सचेतना जगाउन सम्मेलनस्थलमा २८ फिट अग्लो ‘रोइरहेको पृथ्वी’ अंकित गोलाकार बेलुनसमेत राखिएको छ। सम्मेलनले जलवायु परिवर्तनका असर र अनुकूलनसम्बन्धी विशेष घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ।