भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज भारी वर्षाको सम्भावना, तीन दिनसम्म सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रसहित देशका विभिन्न स्थानमा आगामी तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आज दिउँसो विशेषगरी रसुवाको पहाडी भू–भागमा भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा थप सतर्कता अपनाउन आवश्यक छ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार भोटेकोशी बाढीबाट प्रभावित रसुवाको पहाडी क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना छ भने अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षा हुनसक्नेछ। पछिल्लो समय देशका विभिन्न स्थानमा वर्षा भइरहेको र पछिल्लो छ घण्टामा झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी ३४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। अहिले देशभर सामान्यतया बदली रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा यसअघि नै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले थप वर्षाले जोखिम बढाउन सक्ने देखिएको छ। विशेषगरी पहाडी तथा नदी आसपासका क्षेत्रमा अचानक बाढी आउन, पहिरो खस्न तथा सडक अवरुद्ध हुनसक्ने भएकाले स्थानीयवासी तथा यात्रुलाई आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।
विभागले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा मौसमको अवस्था र सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न आग्रह गरेको छ।