आज श्रीकृष्ण जन्माष्टमी, देशभर कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्।
भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्मदिनका अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा विशेष पूजा, प्रवचन, भजन तथा कीर्तन आयोजना भइरहेका छन्।
जन्माष्टमीका दिन महिला तथा पुरुष भक्तजनले व्रत बस्ने र मध्यरातसम्म जाग्राम बसेर भगवान् श्रीकृष्णको भक्ति गर्ने प्रचलन छ। अन्याय, अत्याचार तथा राक्षसी प्रवृत्तिबाट मानव समुदायलाई जोगाउन भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ।
कुरुक्षेत्रमा कौरवसँगको युद्धका क्रममा पाण्डव पुत्र अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई पवित्र ग्रन्थ ‘श्रीमद्भागवत गीता’ का रूपमा मानिन्छ। गीताले कर्मको महत्त्वलाई विशेष रूपमा जोड दिएको छ। पौराणिक ग्रन्थहरूमा बाल्यकालदेखि नै विभिन्न लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको उल्लेख छ।
जन्माष्टमीका अवसरमा ललितपुरको पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ। राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको नवतनधामलगायत देशभरका साना–ठूला कृष्ण मन्दिरमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।
यस अवसरमा विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत आयोजना गर्ने तयारी गरेका छन्। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।