मोरक्कोको पहिलो जित, स्कटल्याण्ड १–० ले पराजित
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ मा मोरक्कोले प्रतियोगिताको पहिलो जित दर्ता गरेको छ। शनिबार बिहान बोस्टनमा सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै मोरक्कोले महत्वपूर्ण तीन अंक हात पारेको हो।
मोरक्कोको जितमा इस्माइल साईबारी नायक बने। उनले खेलको दोस्रो मिनेटमै गरेको गोल नै निर्णायक सावित भयो। सुरुआती अग्रता जोगाउँदै मोरक्कोले अन्तिमसम्म उत्कृष्ट प्रदर्शन गर्दै जित सुरक्षित गर्यो।
यस जितसँगै मोरक्को दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएको छ। पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो। यता, पहिलो खेलमा हाइटीलाई पराजित गरेको स्कटल्याण्ड भने दोस्रो खेलमा हार बेहोर्न बाध्य बन्यो।
समूह ‘सी’ अन्तर्गत शनिबार बिहान ब्राजिल र हाइटीबीच अर्को महत्वपूर्ण खेल हुँदैछ। नकआउट चरणको समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको उक्त खेलको नतिजाले समूहको शीर्ष स्थान र अघिल्लो चरण प्रवेशको सम्भावनामा ठूलो प्रभाव पार्नेछ।