रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि एपमार्फत मत हाल्न सकिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधिहरूलाई सहज र छिटो मतदान गराउन डिजिटल प्रविधिको प्रयोग गर्न लागिएको जनाएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछन्। पहिलो चरणको मतदान सम्पन्न गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ।
महाधिवेशनको पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। निर्वाचित सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन गरिनेछ।
केसीका अनुसार असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ भने सोही साँझ पहिलो चरणको मतदान गरिने तयारी छ। पहिलो चरणको निर्वाचन असार ८ गते रातिसम्म सम्पन्न गरी दोस्रो चरणको निर्वाचन असार ९ गते आयोजना गरिनेछ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। विदेशमा रहेका र नेपाल आउन नसकेका प्रतिनिधिका लागि भने रास्वपाको आफ्नै मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।
पार्टीका अनुसार विदेशस्थित १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले अनलाइन माध्यमबाट मत हाल्न सक्नेछन्। निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य रहेका छन्। आयोगका पदाधिकारीले उम्मेदवारी दिन नपाए पनि मतदान गर्न पाउने व्यवस्था रहेकाले प्रमुख केसीले आफूहरू भने मतदान नगरी निष्पक्ष र तटस्थ निर्वाचन गराउने बताएका छन्।