विष्णु पौडेल विशेष अदालतमा पेश, पक्ष–विपक्ष बहस जारी
काठमाडौं — सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको छ।
उनी सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल परिसरबाट पक्राउ परेका थिए। त्यसपछि नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएर म्याद थपका लागि अदालतमा पेश गरिएको हो।
अहिले विशेष अदालतमा सरकार र प्रतिवादी पक्षबीच बहस जारी रहेको छ। अदालतले उनलाई हिरासतमा राख्ने वा बाहिरै रहने अनुमति दिनेबारे निर्णय गर्नेछ।
पौडेलका पक्षबाट वरिष्ठ अधिवक्ता रमेश बडालले बहस गर्दै राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गरेका छन्। उनले श्रीराम टोबाकोको सेयर बिक्री प्रकरणमा पौडेलको कुनै संलग्नता नभएको तर्क गर्दै प्रमाण नहुँदा मुद्दा कमजोर रहेको बताएका छन्।
पक्षधर वकिलले यो मुद्दा हचुवाका आधारमा अघि बढाइएको भन्दै सार्वजनिक पदका लागि अयोग्य बनाउने प्रयास भएको आरोप पनि लगाएका छन्।
अदालतले अब प्रस्तुत दलील र प्रमाणका आधारमा आगामी निर्णय गर्नेछ।