फिलिपिन्समा हिरासतमा लिइएका ६४ चिनियाँ नागरिक रिहा, ६ जनाको प्रक्रिया जारी
फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई रिहा गरिएको फिलिपिन्सस्थित चिनियाँ दूतावास ले जनाएको छ।
दूतावासका अनुसार थप ६ जनाको रिहाइ प्रक्रिया हाल जारी रहेको र छिटै रिहा गरिने अपेक्षा गरिएको छ।
दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तस्थित स्टिल प्लान्टमा काम गरिरहेका ती चिनियाँ नागरिकलाई मे १५ मा फिलिपिन्सका कानून कार्यान्वयन निकायले हिरासतमा लिएको थियो।
फिलिपिन्सको अदालतले उनीहरूविरुद्ध आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिताको उल्लङ्घन भएको पुष्टि गर्न पर्याप्त प्रमाण नभएको भन्दै रिहा गर्न आदेश दिएको दूतावासले जनाएको छ।
दूतावासले यस विषयलाई विशेष प्राथमिकताका साथ हेर्दै फिलिपिन्सका सम्बन्धित निकायसँग निष्पक्ष, छिटो र कानुनी समाधान तथा आफ्ना नागरिकको अधिकारको संरक्षणको माग गरेको छ।
यसैबीच, चिनियाँ दूतावासले फिलिपिन्समा रहेका चिनियाँ नागरिक तथा संस्थाहरूको सुरक्षा र अधिकारको संरक्षण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।