वृद्धको घर फोरेर टिभी र गहना चोर्ने दुई जना पक्राउ
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा एक वृद्धको घरबाट सुनचाँदीका गहना र विद्युतीय सामग्री चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत जेठ १४ गते बिहान ९ बजे सुनवल नगरपालिका वडा नम्बर १ शान्तिटोल बस्ने ७० वर्षीय मन्जबहादुर गुरुङको घरबाट नगद, गरगहना र अन्य मालसामान चोरी भएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको कमान्डमा प्रहरी टोली खटिएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न भएको आशङ्कामा प्रहरीले सुनवल नगरपालिका वडा नम्बर ३ खैरहनी बस्ने २३ वर्षीय ऋषिराम कबर र हेमेन्द्रनाथ कबरलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरूको घरकोठा खानतलासी गर्दा प्रहरीले चोरीका विभिन्न मालसामान र चोरी गर्न प्रयोग गरिएका फलामका औजारहरू लुकाएर राखेको अवस्थामा फेला पारेको छ। बरामद भएका सामानहरूमा सुनजस्तो देखिने पहेँलो रङको तीन थान औँठी, पाँच थान चुरा, एक थान हार, दुई थान कानको मुन्द्रा, एक थान सिक्री र अङ्ग्रेजी अक्षर ‘एस’ लेखिएको पहेँलो धातुको सिक्का एक थान फेला परेको छ।
यसका साथै, चोरीका विद्युतीय सामग्रीहरूमा एक थान सोनी क्यामेरा, एक थान आइप्याड, विभिन्न कम्पनीका तीन थान मोबाइल र एउटा एलइडी टिभीसमेत बरामद भएको छ।
ऋषिराम र हेमेन्द्रनाथ माथि थप कानुनी कारबाही अगाडि बढाइएको छ। नवलपरासी (पश्चिम) का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार पक्राउ परेका दुवै जनालाई नवलपरासी जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धानको काम भइरहेको छ।