विश्व रक्तदाता दिवस: सुरक्षित रगत आपूर्तिमा प्रगति भए पनि अझै ठूलो असमानता कायम
आज विश्वभर ‘विश्व रक्तदाता दिवस’ विविध कार्यक्रमका साथ मनाइँदै छ। ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नारासहित मनाइने यो दिवसले सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता र स्वेच्छिक रक्तदानप्रति जागरुकता फैलाउने उद्देश्य राख्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा सुरक्षित रगत आपूर्तिमा सुधार देखिए पनि देश–देशबीच ठूलो असमानता अझै कायम छ। सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत सङ्कलन करिब १९ प्रतिशतले वृद्धि भएको छ भने सन् २०२३ मा संकलित करिब १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट आएको छ।
तर कम आय भएका देशहरूमा अझै पनि प्रसूति जटिलता, दुर्घटना, शल्यक्रिया तथा विभिन्न गम्भीर रोगका बिरामीले समयमै सुरक्षित रगत पाउन कठिनाइ भोग्नुपरेको डब्ल्युएचओले जनाएको छ।
डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयससले सुरक्षित रगतको अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्नेमा जोड दिँदै दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण र स्वेच्छिक रक्तदातालाई प्रोत्साहन गर्न सरकारहरूलाई आग्रह गरेका छन्।
संस्थाका अनुसार उच्च आय भएका देशहरूले कुल रक्तदानको ठूलो हिस्सा ओगट्दा, कम आय भएका देशहरूमा आपूर्ति अभावको समस्या अझै गम्भीर छ। धेरै देशमा रक्त सेवाको कानुनी, वित्तीय र नियामक संरचना कमजोर रहेको पनि तथ्याङ्कले देखाएको छ।
डब्ल्युएचओले सबै देशलाई सुरक्षित रक्त प्रणाली सुदृढ गर्न, गुणस्तर प्रत्याभूति विस्तार गर्न र निगरानी प्रणाली सुधार गर्न आह्वान गरेको छ। विश्व रक्तदाता दिवसले प्रत्येक रक्तदानले जीवन बचाउन सक्ने सन्देश पुनः स्मरण गराएको छ।