२१ किलो गाँजासहित एक जना पक्राउ
सिराहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका–१४ निवासी उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा मोटरसाइकलमा सवार मगरलाई रोकी जाँच गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट २१ किलोग्राम गाँजा बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका मगरमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।