राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु, गण्डकीको शानदार सुरुआत
काठमाडौँ — नेपाल हक्की संघको आयोजनामा काठमाडौँमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिम सहभागी छन्।
प्रतियोगिताअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
यस्तै, महिलातर्फको खेलमा पनि गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेशलाई ४–० गोल अन्तरले हराएको छ। महिलातर्फकै अर्को खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई १–० गोल अन्तरले पराजित गरेको छ।
संघका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फ शीर्ष तीन स्थान हासिल गर्ने टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताले नेपालमा हक्की खेलको विकास र खेलाडीहरूको क्षमतावृद्धिमा योगदान पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ।