महिला टी–२० ग्लोबल छनोट: नेपालसामु १४१ रनको चुनौती
काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमा समेटिएको हो।
नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरे पनि अन्तिम ओभरहरूमा स्कटल्यान्डले पुनरागमन गरेको थियो। पावरप्लेमै तीन विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९–६ को अवस्थामा पुर्याए पनि अन्त्यतिर रन जोड्न स्कटल्यान्ड सफल भयो।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन्। अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ र मेगान मेकलले १७ रन बनाइन्।
नेपालका लागि मनीषा उपाध्यायले चार ओभरमा १५ रन दिएर चार विकेट लिइन्। रुबिना क्षेत्रीले तीन विकेट लिँदा सीता राना मगर, रिया शर्मा र कविता जोशीले एक–एक विकेट लिए।
नेपालले **सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब रहेको छ।