२६औं बुढासुब्बा गोल्डकप फुटबलको खेलतालिका सार्वजनिक
काठमाडौं, ७ माघ — २६औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता २०८२ को खेलतालिका सार्वजनिक गरिएको छ।
आयोजक धरान फुटबल क्लबले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार माघ २२ गते धरान एफसी र भारतको जर्जियन एफसीबीच उद्घाटन खेल हुनेछ।
यस संस्करणको प्रतियोगितामा कूल १० टोली सहभागी छन्। सहभागी टोलीमध्ये ५ वटा ए डिभिजन क्लब छन् भने भारत र भुटानबाट एक–एक टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा डियो स्कुटर प्रदान गरिनेछ।
सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार राशि राखिएको छ।