एनपीएलले आतिथ्य उद्योग चलायमान
२८ मंसिर, काठमाडौं — समकालीन नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा स्थापित ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) शनिबार सम्पन्न भएको छ। आठ फ्रेन्चाइज टोली सहभागी यस प्रतियोगिताले अर्बौं रुपैयाँको आर्थिक गतिविधि सिर्जना गरेको अनुमान गरिएको छ, जसको प्रत्यक्ष लाभ आतिथ्य उद्योगले उठाएको छ।
एनपीएलमा सहभागी आठै टोलीले आफ्ना खेलाडी, प्रशिक्षक तथा सपोर्ट स्टाफलाई प्रतियोगिताभर तारे होटलमा राखेका थिए। त्यस्तै, प्रसारण अधिकार लिएको स्टार स्पोर्ट्सले पनि प्राविधिकसहित ठूलो टोलीलाई होटलमा राख्दा होटल व्यवसायमा उल्लेखनीय वृद्धि भएको थियो।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार एनपीएल खेलप्रेमीका लागि पर्वजस्तै बनेको छ भने आतिथ्य उद्योगका लागि ठूलो अवसर सावित भएको छ। “यस्ता मेगा इभेन्टले मैदान वरपर चटपटे बेच्नेदेखि पाँचतारे होटलसम्म सबैलाई फाइदा पुर्याउँछन्,” उनले भने, “लगातार दुई वर्षको सफल आयोजनाले नेपाल ठूला खेलकुद इभेन्ट गर्न सक्षम छ भन्ने प्रमाणित गरेको छ।”
शाहका अनुसार यस्ता प्रतियोगिताले होटल मात्र होइन, कृषक, व्यापारी, यातायात र हवाई सेवा कम्पनीसम्मलाई चलायमान बनाउँछन्।
एनपीएलसँगै नेपालमा हाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिप पनि सञ्चालनमा छ। १९ मंसिरदेखि ५ पुससम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र पाकिस्तानका महिला लिग च्याम्पियन क्लब सहभागी छन्। यसका कारण पनि तारे होटलहरूको व्यापार बढेको छ।
निकट भविष्यमै नेपालले अर्को ठूलो खेलकुद इभेन्ट आयोजना गर्न लागेको छ। आगामी १२ जनवरीदेखि १ फेब्रुअरीसम्म ‘आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर’ नेपालमा हुँदैछ। १० टोली सहभागी हुने यस प्रतियोगितामा करिब २० दिनसम्म विदेशी टोलीहरू नेपालका ठूला होटलमा बस्नेछन्। हान अध्यक्ष शाहका अनुसार यस इभेन्टका लागि पनि व्यवसायीहरू उत्साहित छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी खेलकुद प्रतियोगितामा सहभागी विदेशी खेलाडीहरू नेपाली पर्यटनका अघोषित ‘ब्रान्ड एम्बेसडर’ भएको बताउँछन्। “एक चर्चित खेलाडीको सामाजिक सञ्जाल पोस्टले ठूलो बजेट खर्च गर्दा पनि सम्भव नहुने प्रचार गरिदिन्छ,” उनले भने।
जोशीका अनुसार स्पोर्ट्स इभेन्टले स्थानीय अर्थतन्त्र चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने, ठूला इभेन्ट आयोजना गर्ने क्षमता विकास गर्ने र नेपाली पर्यटनको अन्तर्राष्ट्रिय प्रचारमा महत्वपूर्ण योगदान पुर्याउँछन्। यही कारण पर्यटन बोर्डले खेलकुद इभेन्टलाई सहयोग र प्रवर्द्धन गर्दै आएको उनले बताए।
यसबीच, २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा पर्यटन पूर्वाधार लक्षित भए पनि छोटो समयमै पर्यटन क्षेत्र लयमा फर्किएको व्यवसायीहरू बताउँछन्। अहिले नेकपा एमालेको महाधिवेशन काठमाडौंमा जारी रहँदा देशभरबाट प्रतिनिधि आएका कारण अफ–सिजनमा समेत साना तथा मझौला होटल र रेस्टुरेन्ट लाभान्वित भएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचन र नजिकिँदै गरेको अंग्रेजी नयाँ वर्षले पनि आतिथ्य उद्योगमा थप उत्साह थपेको छ। काठमाडौं, पोखरा, चितवन, धरानलगायत गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने भारतीय र चिनियाँ पर्यटक घटिरहेकाले पोखरालाई ‘ह्याप्पेनिङ डेस्टिनेसन’ बनाउन इभेन्टमा जोड दिइएको बताउँछन्। हालै आयोजित नेपथ्यको कन्सर्टले संगीत, खेल र पर्यटनलाई एकसाथ जोड्न सकिने उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ।
व्यवसायीहरूका अनुसार खेलकुद, सांगीतिक कार्यक्रम र विभिन्न मेला–महोत्सवले नेपाली आतिथ्य उद्योगलाई थप चलायमान बनाउँदै लैजाने अपेक्षा गरिएको छ।