लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
काठमाडौँ, २७ मंसिर — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार त्रिवि क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो।
उपाधि जितेसँगै लुम्बिनी लायन्सका खेलाडी तथा समर्थकहरूले त्रिवि रंगशालामा खुसी साटासाट गरेका थिए।
व्यक्तिगततर्फ प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनी लायन्सका रोहित पौडेल घोषित भए। रोहितले प्रतियोगिताभर २७६ रन बनाउनुका साथै १० विकेटसमेत लिँदै अलराउन्ड प्रदर्शन गरेका थिए। उनले पुरस्कारस्वरूप ओमोडा कार प्राप्त गरे। रोहित प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित हुँदै पल्सर बाइक जित्न सफल भए।
रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा बने। अविनाशले प्रतियोगितामा १७ विकेट लिएका थिए।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भए। १५ विकेट लिएका ट्रम्पलमनले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटनगरका सन्दीप लामिछाने घोषित भए। उनले पनि पुरस्कारस्वरूप पल्सर बाइक प्राप्त गरेका छन्।
एनपीएल सिजन–२ ले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर र दर्शक उत्साहलाई थप उचाइमा पुर्याएको आयोजकले जनाएको छ।