आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह ‘बी’मा
सन् २०२६ जनवरीमा काठमाडौंमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ।
मंगलबार बिहान नेपाल क्रिकेट संघ (क्यान)ले समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरेको हो। आयोजक नेपाल समूह ‘बी’मा परेको छ।
यस प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुनेछन्। प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताको औपचारिक सुरुवात जनवरी १८ तारिखदेखि हुनेछ भने त्यसअघि जनवरी १४ र १६ तारिखमा वामअप खेलहरू आयोजना गरिनेछन्।
क्यानका अनुसार समूह ‘बी’मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे रहेका छन्। समूह ‘ए’मा भने बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल जनवरी १८ तारिखमा थाइल्यान्डविरुद्ध खेल्नेछ। उक्त खेल मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ।
नेपाली महिला क्रिकेट टोली पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोट चरणमा प्रवेश गरेको हो।
प्रतियोगिताबाट सुपर सिक्स चरणका लागि ६ टोली छनोट हुनेछन्। सुपर सिक्सबाट शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।