प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री दाहालले अख्तियारको वार्षिक प्रतिवेदन पेश गर्दै
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आइतबार बिहान बस्ने भएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने भएको हो । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्ने सम्भावित कार्यक्रम रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–२०८०’ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।