वर्षाको मात्रामा आजदेखि कमी आउने, सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाको अनुरोध
काठमाडौं । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको हो।
सोमबार बिहान देशभर साधारणतया बदली रहेको छ । त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो।
सोमबार दिउँसो भने सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कदेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। वर्षाको कारण भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो ।
महाशाखाले खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक, हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सचेतता तथा पूर्वतयारी अपनाउन सबैमा अनुरोध समेत गरेको छ।