युरोकप फुटबलमा टर्कीलाई पराजित गर्दै नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश
काठमाडौं । जर्मनीमा जारी १७औं संस्करणको युरोकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
बर्लिनमा आइतबार बिहान सम्पन्न भएको चौथो क्वार्टरफाइनलको खेलमा टर्कीलाई २–१ गोलले पराजित गर्दै नेदरल्याण्ड्सले सेमिफाइलनमा स्थान निश्चित गरेको हो । नेदरल्याण्ड्सका स्टेफान डेभ्रिजले एक गोल गरेका छन् । एक गोल टर्कीबाट आत्मघाती स्वरुप प्राप्त भएको हो । त्यस्तै, टर्कीका समेट अकायदिनले गोल गरेका छन् ।
टर्कीका अकायदिनले खेलको ३५औं मिनेटमा शुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । तर ७०औं मिनेटमा डेभ्रिजको गोलमार्फत नेदरल्याण्ड्स १–१ गोलको बराबरीमा आएको हो । त्यसपछि टर्कीका मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्स पुनरागमन जित निकाल्न सफल भएको छ।
सोही खेलसँगै युरोकपमा सेमिफाइनल समीकरण पूरा भएको हो । अब सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्ड र फ्रान्सले स्पेनसँग खेल्ने भएको छ ।