‘०८४ मा कांग्रेस र एमालेले कसैसँग चुनावी गठबन्धन गर्दैनन्’
काठमाडौं । दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा धेरैको आशंका छ । उनीहरूका अनुसार सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री त बन्न सक्छन्, तर धेरै समय दुई दलबीच सत्ता सहकार्य नहुन सक्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको दल माओवादी केन्द्रले त ओलीलाई सजिलै सत्तामा आउनै नदिने रणनीति नै अख्तियार गरेको देखिन्छ ।
तर सातबुँदे सहमतिको प्रक्रियामा सहभागी एमाले महासचिव शंकर पोखरेल भने सहमति गर्ने क्रममा दुई दलका नेताहरूबीच गम्भीरतापूर्वक छलफल भएको बताउँछन् । ‘कांग्रेस र एमाले नै असफल भयो भने चाहिं हाम्रो परिवर्तनप्रति नै अविश्वास पैदा हुन्छ’ उनले भने, यसबारे गम्भीरतापूर्वक छलफल गरेका छौं र, त्यसो हुन नदिने संकल्प गरेका छौं ।’
दुई दलका नेताहरूबीच ०८४ सालको चुनावसम्मकै विषयमा छलफल भएको उनले बताए । प्रस्तुत छ, एमाले महासचिव पोखरेलसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
राजनीतिक स्थायित्व भनेर सरकार फेर्ने निर्णय गर्नुभयो, कुरा मिल्यो र ?
प्रचण्डजी, पछिल्लो समीकरणको निरन्तरताको पक्षमा देखेनौं । उहाँमै द्विविधा उत्पन्न भएको देखियो । ३२ नम्बर भनेको म्याजिक नम्बर हो, यसले जे पनि गर्न सक्छ भनेर प्रस्तुत हुन थाल्नुभयो । र, यो समीकरणलाई नै असर पर्ने गरी राष्ट्रिय सहमतिको चर्चा गर्न थाल्नुभयो ।
अब राष्ट्रिय सहमतिको बाटोमा जाने हो भने प्रमुख पार्टीहरूबीच नै किन छलफल नगर्ने भन्ने कुरा आयो र, हामी एउटा निष्कर्षमा पुग्यौं । किनकि प्रचण्डजीमा भरोसा गर्न सकिंदैन भने सरकार त दिनुपर्यो !
स्थायित्वको पक्षमा को रहेछ भन्ने भविष्यमा थाहा होला । तर कांग्रेससँग रहेको माओवादीलाई ल्याउने, अनि अहिले आफैं कांग्रेससँग मिल्दा धोका भएन ?
नेपाली राजनीतिमा प्रचण्डजीले सबैलाई धोका दिएपछि उनीहरू जोगिन खोजे भनेर बुझ्ने स्थिति छ । किनकि प्रचण्डजीले छोटो अवधिमा फरक–फरक समीकरणका लागि आफैं पहलकदमी लिनुभयो ।
फेरि उहाँमा मान्छे मलाई अस्थिर भन्छन्, म गतिशील छु भन्ने टाइपको एउटा थेगो छ । म जति बाँच्छु, हलचल मच्चाइरहन्छु, उथलपुथल ल्याइरहन्छु भन्ने अभिव्यक्ति दिइरहनुहुन्छ । यसले के देखाउँछ भने सहमति गर्ने हामी (कांग्रेस र एमाले) भन्दा आजको परिवर्तनको सूत्रधार प्रचण्डजी नै हो ।