एसिया कप क्रिकेट प्रतियोगिता खेल्नु अघि नेपाली महिला टिमले श्रीलंकासँग अभ्यास खेल खेल्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला टिम श्रीलंका पुगेको छ ।
आगामी साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरिसकेको हो । गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट नेपाल एसियक कप क्रिकेट प्रतियोगितामा छनोट भएको हो । प्रतियोगितामा ८ टोलीको सहभागीता भएका छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको हो ।
नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई रहेको छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड रहेका हुन् । समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट २-२ टोली सेमिफाइनल पुग्ने भएका छन् । सेमिफाइनलमा विजयी २ टोलीबीच फाइनल भिडन्त साउन १३ गते आइतबार हुने भएको हो ।
महिला एसिया कप टोलीको नेतृत्व नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई दिएको छ । बर्मा कप्तान रहेको टोलीमा अनुभवी खेलाडी एवं पूर्वकप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् ।