एमालेको सचिवालय बैठक आज बस्दै, पछिल्लो राजनीतिक घटना क्रमको बारेमा छलफल हुने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार दिउँसो बस्ने भएको छ ।
ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बैठक मंगलबार दिउँसो १ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको हो। उहाँका अनुसार सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायत विषयमा छलफल हुने भएको छ। विशेषगरी असार १७ गते राति नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको समझदारीको बारेमा बैठकमा छलफल हुने भएको हो ।
त्यस्तै, पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि मंगलबार बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो। यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुने भएको छ। यसअन्तर्गत जिल्ला र जनसंगठन इन्चार्ज परिवर्तन हुने भएका हुन्।
एमालेले यसअघि नै संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो। अभियानको बारेमापनि सचिवालय बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख गौतमले बताउनुभएको छ ।