बाढी-पहिरोका कारण १९ ठाउँमा अझै सडक अवरूद्ध, ७४ जनाको मृत्यु, ८८ घाइते र ९८ करोड बढीको क्षति
काठमाडौं । गत शुक्रबार-शनिबारको लगातारको वर्षापछिको बाढी-पहिरो र डुबानका कारण १९ ठाउँका अझै सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्।
सडक विभागका अनुसार संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी र दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन्। त्यस्तै, १ सय १० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा रहेका छन्। यो वर्ष मनसुन सुरु भएको जेठ २८ यता सडक क्षेत्रमा ९८ करोड भन्दा बढीको क्षति भएको विभागले जनाएको हो ।
बाढी-पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन्। यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरो लगायतका विपद ७४ जनाको मृत्यु भएको छ। यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८/१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४/४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको हो।
विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म २ हजार २ सय ९६ परिवार विस्थापित भएका छन्।