सदाबहार डेंगु : अबको तीन महिना एकदमै कठिन
काठमाडौं । मनसुन भर्खर–भर्खर सक्रिय भएको छ । तर डेंगुका संक्रमित देशभर भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७३ जिल्लामा डेंगु सक्रिमित भेटिएका हुन् ।
हालसम्म १ हजार ४३२ जना संक्रमित भएका छन्, जसमा सबभन्दा बढी बागमती प्रदेशमा ४८२ जना संक्रमित भए । कोशीमा ३५०, गण्डकीमा २१२, लुम्बिनीमा १७१, सुदूरपश्चिममा १५९, मधेशमा ३८ र कर्णालीमा २० जना संक्रमित भए ।
कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ ।
‘गत वर्ष मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यस वर्ष भखरै मनसुन संक्रिय भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. दाहालले भने, ‘यो तीन महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।’
सदाबहार डेंगु
एडिस एजेप्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।
२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।
सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।
२०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ईडीसीडीको तथ्यांक अनुसार संक्रमितमध्ये ३१ प्रतिशत सुनसरीका थिए ।
‘पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएका छन्,’ डा. दाहालले भने, ‘अघिल्लो वर्षमा कुनै पनि महिना डेंगुका बिरामी शून्य भएन । अब डेंगु सदाबहादर देखिने आकलन गर्न सकिन्छ ।’ अझ संक्रमित हुने दर बढ्दो छ ।
२०१८ मा प्रतिलाख ३ जना संक्रमित भएका थिए । २०१९ मा ६०, २०२२ मा १८५ थिए । सन् २०२३ मा आइपुग्दा प्रतिलाख १७८ जना संक्रमित भएका छन् । ‘विगतका तथ्यांकले पनि डेंगु फरक फरक ठाउँमा फैलिएको देखिन्छ,’ डा. दाहालले भने, ‘अबको केही हप्तामा डेंगुको बिरामी बढ्ने निश्चित छ ।’
लामखुट्टेले संक्रमण सार्ने दर, नागरिक नियन्त्रणको चेतनाको स्तर, मनसुनको अवस्थाले पनि डेंगुले कस्तो रूप लिन्छ भन्नेमा निर्भर हुने डा. दाहाल बताउँछन् ।
डेंगु फैलिने मुख्य कारण– शहरीकरण
केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो । पछिल्लो समय पहाड चढ्दै हिमालसम्मै पुगिसके ।
ईडीसीडीका निर्देशक डा. युदुचन्द्र घिमिरेका अनुसार, तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा ढाल्दै गएको बताउँछन् । ‘हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे हिमालसम्म पुगेका छन्,’ घिमिरेले भने, ‘ जलवायु परिवर्तनको असर उच्च भू–भागमा देखिएको छ । मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको हो ।’
विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ । विज्ञहरू डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ ।
किनकि, यस्ता घना शहरमा पानी जोहो गर्नका लागि ड्रम र बाल्टी राखिएको हुन्छ । त्यस्तै, ग्यारेज तथा बसपार्कको टायर, घर र कौसी खेतीका लागि राखिएका गमलामा पनि लामखुट्टेले छिट्टै फुल पार्छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट डेंगु संक्रमण हुने गर्छ ।
सामान्यतया एडिस एजेप्टाइ शहरी क्षेत्रमा बासस्थान बनाउने गर्छ । एडिस एल्वौपेक्टस झाडी तथा जंगलमा पाइने हुन्थ्यो । तर अहिले दुवै प्रजातिको बसोबास क्षेत्रमा परिवर्तन आएको देखिएको छ । ईडीसीडीले अघिल्लो वर्ष गरेको एक अध्ययनमा एडिस एल्वौपेक्टसका प्रजाति प्रशस्त मात्रामा भेटिएको छ ।
केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो । पछिल्लो समय पहाड चढ्दै हिमालसम्मै पुगिसके ।
‘काठमाडौं उपत्यकामा एडिस एल्वौपेक्टस पाइन्छ भन्ने अनुमान नै गरेका थिएनौं । तर, उपत्यकाका जिल्लामा प्रशस्त मात्रामा एल्वौपेक्टसका प्रजाति भेटियो,’ दाहालले भने ।
डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ । २०७९ गरिएको सरकारी अध्ययनले डेंगुको फैलिनुमा ‘१,२ र ३ सेरोटाइप ३ को भूमिका रहेको देखाएको थियो । त्यसमध्ये ३ सेरोटाइपको भूमिका बढी देखाएको छ ।
सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल हुन्छ ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा लामो समयसम्म रहिरहन्छन् । त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ ।
संक्रमित पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा एक हजारसम्म फुल पार्नसक्छ । उक्त अण्डा विकसित हुनका लागि ८ देखि १० दिन लाग्ने गर्छ । संक्रमित लामखुट्टेको फुलबाट जन्मिएका सबै लामखुट्टे डेंगु संक्रमित हुने गर्छन् ।
उक्त लामखुट्टको शरीर कालो–सेतो छिरबिरे रंगको देखिन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो टोक्छ । पोथी लामखुट्टले एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जाने डा. दाहाल बताउँछन् ।