आईसीसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई दियो १ सय २५ रनको चुनौती
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह ‘डी’ अन्तर्गत अहिले जारी खेलमा श्रीलंकाले बंगलादेशलाई १ सय २५ रनको चुनौती दिएको छ।
टस जितेर बंगलादेशले फिल्ड रोजेपछि शुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २४ रन बनाएको हो। श्रीलंकाका लागि पथुम निसानकाले सर्वाधिक ४७ रन बनाएका छन्। २८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका हुन्। धनन्जय डी सिल्भाले २१ रन जोड्दा चरित असालान्काले १९ रन बनाएका छन्।
एन्जेलो म्याथ्यूज १६ रनमा आउट हुँदा कुसल मेन्डिसले १० रन जोडेका हुन्। श्रीलंकाका अन्य ब्याट्सम्मानले दोहोरो अंक जोड्न सकेनन्। बंगलादेशका लागि रिशाद हुसेन, मुस्ताफिजुर रहमानले समान ३-३ विकेट लिंदा तस्किन अहमद २ र तन्जिम हसन साकिबले १ विकेट हात पारेका हुन्। समूह ‘डी’को बंगलादेश विश्वकपमा पहिलो खेल खेल्दैछ। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो।
पहिलो खेलमा बंगलादेश विजयी शुरुवात गर्न चाहन्छ भने श्रीलंका पहिलो जितको खोजीमा हुने भएको छ। यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स रहेका हुन्। दक्षिण अफ्रिका २ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्स भने समान २ अंकसहित दोस्रो स्थानमा रहेको हो ।
नेपाल र श्रीलंकाले भने खाता खोल्न नै सकेका छैनन्।