आईसीसी टी-२० विश्वकपमा अमेरिका र क्यानाडाबीचको खेल जारी
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहानदेखि आयोजक अमेरिका र क्यानाडाबीचको खेल जारी रहेको छ ।
टी-२० विश्वकपको नवौं संस्करणको पहिलो खेल आइतबार बिहान सवाँ ६ बजेदेखि अमेरिकाको डालासमा शुरु भएको हो । पहिलो खेलमा टस जितेर अमेरिकाले क्यानाडालाई ब्याटिङको निम्तो दिएको छ। आइतबार नै दोस्रो खेलमा अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्युगिनी (पीएसजी)ले प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाली समय अनुसार दोस्रो खेल आइतबार राति सवाँ ८ बजेदेखि शुरु हुने भएको हो । आइतबारदेखि विश्वकपका खेल शुरु भए पनि नेपालले मंगलबार मात्र पहिलो खेल खेल्ने भएको छ । नेपालले जेठ २२ गते मंगलबार नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको शुरुवात गर्ने भएको हो ।
विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलंका, तेस्रो खेल आगामी असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बंगलादेशसँग खेल्ने भएको छ। २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको हो। समूहका शीर्ष २ टोली सुपर ८ मा प्रवेश गर्ने भएको छ।
नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो। नेपालले बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको थियो।