आईसीसी टी-२० विश्वकप क्रिकेटमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत ‘सुपर ८’ मा प्रवेश
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत ‘सुपर ८' मा प्रवेश गरेको छ।
न्युयोर्कमा बुधबार राति सम्पन्न भएको खेलमा अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टाएको हो। १ सय ११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा ६ बलमा ३ रन, विराट कोहली शून्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुवेले सम्हालिएर प्रदर्शन गरेका छन् ।
अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाएका थिए । उनले ४९ बलको सामना गर्दै २ चौका र २ छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन्। दुवेले ३५ बलको सामना गर्दै एक-एक चौका र छक्काको मदद्तमा नटआउट ३१ रन बनाएका छन्। ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए।
अमेरिकाका लागि सौरभ नेत्रावलकरले २ विकेट हात पारे भने अली खानले एक विकेट लिएका छन्। यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो। अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाएका छन् । स्टिभन टेलर्सले २४ रन र कोरी एन्डरसनले १५ रन बनाएका थिए।
भारतका लागि अर्शदीप सिंहले ४ विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चिएर ४ विकेट हात पारेका हुन्। उनको बलिङले अमेरिकी ब्याटिङ लाइन कमजोर बनेको थियो। हार्दिक पाण्ड्याले २ विकेट र अक्षर पटेलले एक विकेट हात पारेका छन्।
यो जितसँगै भारत विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ। समूह ‘ए’को शीर्ष स्थानमा रहेको भारतले एक खेल अगाडि लगातार ३ खेल जित्दै सुपर ८ मा स्थान बनाएको हो। यो समूहको दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाले ३ खेलमा ४ अंक जोडेको हो। पाकिस्तान र क्यानडाले २-२ अंक जोडेका छन् । आयरल्यान्ड भने अकं विहीन रहेको छ।
जारी विश्वकपमा दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सुपर ८ मा प्रवेश गरिसकेका हुन्। सुपर ८ मा पुग्ने भारत तेस्रो टिम बनेको हो। २० टिम सहभागी विश्वकपमा ४ समूहका शीर्ष २ टिमले सुपर ८ मा प्रतिस्पर्धा गर्ने भएका छन्।