आईसीसी टी-२० विश्वकप क्रिकेटमा नामिबियालाई ४१ रनले पराजित गर्दै इंग्ल्याण्ड विजयी
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा शनिबार राति भएको खेलमा इंग्ल्याण्डले नामिबियालाई ४१ रनले पराजित गरेको छ ।
वर्षाले अवरोध गरेपछि १० ओभरमा झारिएको खेल डिएल म्याथोडमा इग्ल्याण्डले ४१ रनको जित निकालेको हो। शुरुमा ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै १० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको नामिबिया ३ विकेट गुमाउँदै ८४ रनमा समेटिएको हो।
यो जितसँगै इंग्ल्याण्डले सुपर ८ को सम्भावनालाई जीवितै राखेको छ। समूह ‘बी’मा सुपर ८ प्रवेश गरिसेको अस्ट्रेलिया ६ अंकसहित शीर्ष स्थामा रहेको छ। ४ खेल खेलिसकेको इंग्ल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा रहेको हो।
समान अंक भएको तर एक खेल खेल्न बाँकी स्कटल्याण्ड भने रनरेटका आधारमा तेस्रो स्थानमा छ। इंग्ल्याण्डलाई सुपर ८ प्रवेशका लागि अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गर्नुपर्नेछ। स्कटल्याण्डले अस्ट्रेलियामाथि जित निकाले यो समूहबाट स्कटल्याण्ड सुपर ८ मा प्रवेश गर्ने भएको हो ।
यो समूहका नामिबिया र ओमान भने विश्वकपबाट बाहिरिसकेका छन्। त्यसैगरी शनिबार राति नै भएको समूह ‘ए’को भारत र अमेरिकाको खेल वर्षाले अवरुद्ध भएको हो । खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडेको भारत ७ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर ८ पुगेको छ । अमेरिका समेत ५ अंकसहित सुपर ८ मा पुगेको छ।
यो समूहका क्यानाडा, पाकिस्तान र आयरल्याण्ड विश्वकपबाट बाहिरिसकेका हुन्।