युरोकप फुटबलमा अन्तिम १६ मा इटाली प्रवेश
काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ ।
मंगलबार बिहान सम्पन्न भएको समूह ‘बी’ को खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेल्दै साविक विजेता इटाली युरोकपको अन्तिम १६ मा पुगेको हो । खेलमा इटालीका लागि माटिया जाकाग्नी र क्रोएसियाका लुका मोड्रिचले १–१ गोल गरेका छन् ।
खेलको ५५औं मिनेटमा मोड्रिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयको आठौं मिनेटमा इटालीका जाकाग्नीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् ।
यो बराबरीसँगै इटाली ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुगेको छ । शतप्रतिशत नतिजा निकाल्दै स्पेन ९ अंकसहित शीर्षस्थानमा रहेको हो । स्पेन यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । क्रोएसियाको २ र अल्बानियाको १ अंक रहेको हो ।