आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतको विजयी शुरूवात
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधबार राति भारतले विजयी शुरुवात गरेको छ ।
बुधबार राति सम्पन्न भएको खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटाएको थियो । उसका लागि कप्तान रोहित शर्माले अर्धसतक प्रहार गरेका हुन् । ३७ बलको सामना गरेका शर्माले ४ चौका र १ छक्का प्रहार गरेका छन् ।
त्यस्तै, रिसब पन्तले ३६ रन बनाएका थिए । बुधबार ओपनिङ गर्न आएका विराट कोहलीको ब्याट भने चल्न सकेन । कोहली ५ बलमा एक रन बनाएर आउट भएका हुन् ।
आयरल्याण्डका लागि बेन्जामिन वाइट र मार्क एडेयरले १-१ विकेट लिएका छन्। त्यसअघि न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएका थिए ।
उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाएका छन् । १४ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरेका हुन् । त्यस्तै, कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाएका छन् । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाएका थिए । भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिएका हुन् ।
४ ओभर बलिङ गरेका उनले २७ रन खर्चिएका छन्। त्यस्तै, अर्शदीप सिंह, जस्प्रीत बुमराहले २-२, अक्षर पटेल र मोहमद सिराजले १-१ विकेट लिएका थिए ।