आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानको लगातार दोस्रो शानदार जित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित दर्ता गरेको छ।
शनिबार बिहान सम्पन्न भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डमाथि ८४ रनको शानदार जित निकालेको हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डामाथि १ सय २५ रनको जित निकालेको थियो। न्युजिल्याण्डले टस जितेर शुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले शुरुमा ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो।
१ सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएको हो। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक १८ रन बनाएका हुन्। म्याट हेनरी १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
समूह ‘सी’मा रहेको न्युजिल्याण्ड विश्वकपको पहिलो खेलमा पराजित भएको हो। अफगानिस्तानले पहिलो खेलमा युगाण्डाविरुद्ध १ सय २५ रनको शानदार जित निकालेको थियो। दोस्रो जितसँगै अफगानिस्तान ४ अंकसहित समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ।
यो समूहमा अफगानिस्तान, न्युजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी (पिएनजी) रहेका हुन्। २ खेल खेलेको पिएनजीले खाता खोल्न सकेको छैन । युगान्डाले २ खेलमा एक जितसहित २ अंक जोडिसकेको छ।