आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनले पराजित गर्यो
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले युगान्डालाई पराजित गरेको छ ।
मंगलबार बिहान प्रोभिडेन्स रंगशालामा भएको खेलमा अफगानिस्तानल युगान्डालाई १ सय २५ रनले पराजित गरेको हो । १ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाएको छ ।
युगान्डाका लागि रोबिनसन ओबुयाले २५ बलमा १४ रन र रियाजत अली शाहले ३४ बलमा ११ रन बनाएका हुन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युगान्डाको इनिङ्स ध्वस्त बनाउन फजहलहक फारुकीले ५ विकेट लिएका छन्। ४ ओभर बलिङ गर्दै उनले ९ रन मात्र खर्चिएका थिए । नवीन उल हक र रासिद खानले २-२ विकेट र मुजिब उर रहमानले १ विकेट लिएका हुन् ।
अपोनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको शतकीय साझेदारीको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । २ ओपनरले पहिलो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरेका हुन्।
गुरबाजले ४५ बलमा ७६ रन बनाएका हुन् । उनले यसक्रममा ४ चौका र ४ छक्का बनाएका थिए । अर्का ओपनर जादरानले ४६ बलमा ७० रन जोडेका छन् । उनले ९ चौका र १ छक्का प्रहार गरेका हुन् । युगान्डाका बलरहरूले कमब्याक गरेका छन् । मोहम्मद नाबीले १६ बलमा १४ रन बनाउन बाहेक अन्य ब्याटरले खुलेर रन बनाउन सकेनन् ।
२ सय रन भन्दा माथि बनाउन अग्रसर देखिएको अफगानिस्तान १ सय ८३ रनमा रोकिएको हो । युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २–२ विकेट र अल्पेस रामजानीले १ विकेट हात पारेका थिए ।