आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानाडाले अमेरिकालाई १९५ रनको विशाल लक्ष्य दियो
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा क्यानाडाले घरेलु टोली अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ।
डल्लासको ग्राण्ड प्रेरी मैदानमा आइतबार बिहानदेखि शुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको क्यानाडाले पूरै २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रन जोडेको हो । उसका लागि नवनित धालिवालले ६१ र निकोलस किर्तनले ५१ रनको अर्धसतकीय पारी खेलेका छन्। त्यस्तै, आरोन जोनसनले २३ तथा श्रयस मोभ्भाले ३२ रनको योगदान गरेका हुन्।
अमेरिकाका अली खान, हर्मित सिंह र कोरी एन्डर्सनले एक–एक विकेट लिएका छन् । अमेरिका केही बेरमा जवाफी ब्याटिङमा उत्रिंदैछ। वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता १ महिनासम्म चल्ने भएको हो। वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको छ । अमेरिकाले पहिलो मौका पाएको हो ।
प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो।