आईसीसी टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्डसँग नामिबिया ५ विकेटले पराजित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बिहीबार राति सम्पन्न भएको खेलमा स्कटल्याण्डसँग नामिबिया ५ विकेटले पराजित भएको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको नामिबियाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको हो। जवाफी ब्याटिङ गरेको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउँदै शानदार जित निकालेको छ। शुरुमा ब्याटिङ गरेको नामिबियाका लागि कप्तान गिरहार्ड इरासमुसले अर्धशतकीय इनिङ खेलेका हुन्।
३१ बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाएका छन्। जेन ग्रीनले २८ रन बनाउँदा निकोलास डेभिनले २० रन जोडेका थिए। अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्। नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्राड व्हीलले ३ विकेट हात पार्दा ब्राड करीले २ विकेट लिएका हुन्। क्रिस सोल, क्रिस ग्रिब्स र माइकल लिस्कले समान एक-एक विकेट हात पारेका छन्
१ सय ५६ रनको लक्ष्य पाएको स्कटल्याण्डले गरेको जवाफी ब्याटिङमा कप्तान रिची बेरिंगटनले नटआउट ३५ बलमा सर्वाधिक ४७ रन बनाएका हुन्। माइकल लिस्क ३५, माइकल जोन्स २६ र ब्रान्डन एमसीमुलिनले १९ रन जोडेका थिए। नामिबियाका लागि गेर्हार्ड इरास्मसले २ विकेट लिंदा बर्नार्ड इस्सोटेज, टांगेनी लुंगामेनी र रुबेन ट्रम्पलम्यानले समान एक-एक विकेट हात पारेका छन्।
सोही जितसँगै २ खेल खेलेको स्कटल्याण्ड ३ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा रहेको हो। नामिबिया भने २ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। समूह ‘बी’मा स्कटल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया र ओमान रहेका हुन्।