आईसीसी टी-२० विश्वकप क्रिकेटमा पीएनजीलाई पराजित गर्दै वेस्ट इन्डिजको सुखद विजयी शुरूवात
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा वेस्ट इन्डिजले विजयी शुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेटाएको छ ।
उसका लागि रोस्टन चेसले नटआउट ४२ रन बनाएका हुन् । त्यस्तै, आन्द्रे रसलले नटआउट १५ रन बनाउँदा ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ र कप्तान रोभमन पावेलले १५ रन बनाएका छन् ।
पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिएका थिए । अलेई नाओ, चाद सोपर र जोन कारिकोले एक–एक विकेट लिएका हुन् । यसअघि प्रोभिडेन्स स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको छ।
पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेका हुन् । ४३ बलको सामना गरेका बाउले ६ चौका र एक छक्काको मदतमा ५० रन बनाएका छन् । त्यस्तै, किपलिन डोरिगाले २७ रन र कप्तान असद भालाले २१ रनको योगदान दिएका थिए । चार्ल्स अमिनीले १२ र चाड सोपरले १० रन बनाएका छन् ।
वेस्ट इन्डिजका लागि आन्द्रे रसल, अल्जारी जोसेफले २–२, अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट लिएका थिए ।