संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सबै भन्दा उत्कृष्ट: पूर्वराष्ट्रपति यादव
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताउनुभएको छ।
गणतन्त्र दिवस, २०८१ का अवसरमा तस्बिर प्रदर्शनीको सोमबार अवलोकन गरेपछि प्रतिक्रिया दिंदै उहाँले यस्तो बताउनुभएको हो । संसारमा भएका शासन प्रणाली मध्ये संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबै भन्दा उत्कृष्ट रहेको उहाँले बताउनुभयो।
जनताको आन्दोलनको उपलब्धिका रुपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उहाँले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रुपमा राजनीतिक दलले सहमति, समन्वय र सुझबुझपूर्ण रुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्ग लगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताउनुभयो।
गणतन्त्रपछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विस्तार भएको उहाँको भनाइ छ । तर पनि गुणस्तरीय शिक्षामा भने हामीले जोड दिनुपर्ने र जनप्रतिनिधिको ध्यान त्यसमा हुनुपर्ने पूर्वराष्ट्रपति यादवको तर्क थियो ।