८ औं प्रधानमन्त्री कप एनभिए भलिबलमा त्रिभुवन आर्मी क्लबको दोस्रो जित
काठमाडौं । ८ औं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानीलकण्ठ भलिबल क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले बुढानीलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। आर्मीले खेलको पहिलो सेट २५-१५ ले जित्यो भने खेलको दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पारेको छ । खेलको तेस्रो तथा अन्तिम सेट २५-२० ले जितेको हो।
प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई पनि ३-० को सोझो सेटमा पराजित गरेको थियो। जितसँगै आर्मीले २ खेलमा ६ अङ्क जोडेको छ। २ खेल खेलको बुढानीलकण्ठ अंकविहीन भएको छ। बुढानीलकण्ठ पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३-१ सेटमा पराजित भएको थियो ।
आइतबार नै सम्पन्न महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ पराजित गरेको छ। एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सेटमा पराजित गरेको हो ।