आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाको लगातार दोस्रो जित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति सम्पन्न भएको खेलमा नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको हो । नेदरल्याण्ड्सले दिएको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेटाएको छ ।
दक्षिण अफ्रिकाको जितमा डेबिट मिलरले अर्धशतक प्रहार गरेका हुन् । ५१ बलको सामना गरेका मिलरले ३ चौका र ४ छक्काको मदतमा ५९ रन बनाएका छन् । त्यस्तै, ट्रिस्टन स्टब्सले ३३ रन बनाएका हुन् । ३७ बलमा खेलेका उनले एक चौका र एक छक्का प्रहा गरेका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।
नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले २ विकेट लिएका हुन् । ४ ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए । त्यस्तै, लोगान भ्यान बेकले पनि २ विकेट लिए । बास डे लीडेको नाममा एक विकेट रहेको हो । त्यसअघि न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १ सय ३ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाएका छन् । ४५ बलको सामना गरेका उनले २ चौका र एक छक्का प्रहार गरेका हुन् । त्यस्तै, विक्रमजित सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १० र बास डे लीडेले ६ बनाएका छन् । लोगान भ्यान बेकले २३ रन बनाउदा माइकल लेविट र तेजा निदामनुरु शून्य रनमा आउट भएका हुन् ।
दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को जेन्सेनले २-२ विकेट लिएका थिए ।