टी-२० सिरिज पहिलो अभ्यास खेलमा नेपाल विजयी
काठमाडौं । टी-२० सिरिजको पहिलो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि नेपालले ६ रनको जित निकालेको छ ।
शुक्रबार राति सम्पन्न भएको खेलमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको हो । १ सय ४७ रनको लक्ष्य पछ्याएको हुरिकेन्स ८ विकेटको क्षतिमा १ सय ४० रनमा समेटिएको छ ।
अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गर्दा नेपालले ६ रनको जित निकालेको हो । हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिएका छन्। कप्तान रोहित पौडेल, अविनास बोहरा, सागर ढकाल र कुशल भुर्तेलले समान एक-एक विकेट हात पारेको हो ।
शुरुमा ब्याटिङ गरेको नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ४७ रन बनाएका छन्। कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहेका हुन्।
होरिकेन्सँग नेपालले अर्को खेल आज (शनिबार) राति खेल्ने भएको छ । विश्वकप अगाडिको अभ्यास खेलका रुपमा नेपालले २ खेल खेल्न लागेको हो ।