आईपिएलमा आज मुम्बई र लखनउबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) मा शुक्रबार राति मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुने भएको छ ।
मुम्बईको वान्खडे स्टेडियममा हुने सोही खेल शुक्रबार राति पौने ८ बजेदेखि शुरु हुने भएको हो । जारी आईपिएलमा मुम्बई इन्डियन्स प्लेअफको दौडबाट बाहिरिइसकेको छ । मुम्बईको १३ खेलमा ८ अंक रहेको र अंकतालिकामा पुछारमा रहेको छ । शुक्रबारको खेलको नतिजाले मुम्बईलाई कुनै असर पर्दैन ।
त्यस्तै, लखनउ सुपर जाइन्टले शुक्रबारको खेलमा फराकिलो अन्तरको जित हाशिल गरेमा प्लेअफको दौडमा रहेपनि अलि असम्भव देखिन्छ । लखनउको १३ खेलमा १२ अंक रहेको र अंक तालिकामा सातौं स्थानमा रहेको छ । मुम्बई इन्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको तर राम्रो शुरुवात गर्न सकेको छैन ।
मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह र तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै, मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस र रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
त्यस्तै, लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको हो । सोही टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै, निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिएको छ ।