आईपीएलमा गुजरात टाइटन्सको शानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किंग्सविरुद्ध गुजरात टाइटन्सका ओपनरले शतक बनाउँदै आईपिएल क्रिकेटमा नयाँ इतिहास लेखाएका छन्।
गुजरात ओपनर कप्तान शुभमन गिल र साई सूदर्शनको शतकीय इनिङ्सले चेन्नई स्तब्ध भएको हो । नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३१ रन बनाएको छ ।
गुजरातका कप्तान गिलले सर्वाधिक १ सय ४ रन बनाएका हुन् । ५५ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरेका छन्। आईपीएलमा गिलको यो चौथो शतक हो। सूदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १ सय ३ रन बनाएका छन् । आईपीएलमा सूदर्शनको यो पहिलो शतक हो। पहिलो विकेटका लागि गिल र साईले २ सय १० रनको साझेदारी गरेर इतिहास बनाएका छन्।
सोही ऐतिहासिक जितसँगै तालिकाको पुछारबाट आठौं स्थानमा पुगेको गुजरातले १० अंक जोडेको हो। जितसँगै गुजरातले प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको छ । गुजरातको सोही जितले चेन्नईसँगै लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सको प्लेअफ दौड गणितीय खेलमा निर्भर भएको हो।
गुजरातसँगको खेलमा पराजित भएपछि १२ अंकमा यतावत रहेको चेन्नइसँगै पाँचौं-छैटौं स्थानमा दिल्ली र लखनउको पनि समान १२-१२ अंक रहेको छ।