गृहमन्त्री लामिछानेविरूद्धको मुद्दामा आज सुनुवाई हुँदै
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी बुधबारका लागि तोकिएको छ ।
गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा बुधबार सुनुवाई हुन लागेको हो । अधिवक्ता भट्टराईले सोमबार गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनेर निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ । रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको हो।
रिटमा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनेर नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाममा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको पत्र पठाएपछि अधिवक्ता भट्टराईले गृहमन्त्री र महान्याधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। तर, अदालत प्रशासनले उक्त रिट दरपीठ गरेपछि अधिवक्ता भट्टराईले अर्को रिट दायर गर्नुभएको थियो ।
उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले रुपन्देहीको सुप्रिप बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था, कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी गृमन्त्री लामिछानेविरुद्ध कुनै उजुरी, जाहेरी, अनुसन्धान र अभियोजन समेत नदेखिएको जनाएको थियो ।