महिला समानता र आन्दोलनका लागि धेरै त्याग गर्नुपर्यो: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव समाजलाई यहाँसम्म पुर्याउन महिलाको सबै भन्दा बढी योगदान रहेको बताउनुभएको छ ।
एमाले राष्ट्रिय महिला भेलालाई बुधबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,-‘ब्यवस्था परिवर्तन भयो अवस्था उस्तै छ भन्ने भर्खर आएका केटाकेटीले हो । उनीहरूलाई के थाहा अवस्था कस्तो थियो भनेर । कति संघर्ष गर्नु परेको थियो । महिला समानता र आन्दोलनका लागि धेरै त्याग गर्नुपरेको छ । ‘
अध्यक्ष ओलीले केही शारीरिक रुपमा भिन्नता भएपनि अरु सबै कुरामा समान भएको बताउनुभयो । मानव जातिलाई हुर्काउने दायित्व पनि महिलाको हातमा भएको उहाँले बताउनुभएको छ ।
उहाँले भन्नुभयो,-‘हाम्रो समाज विदेशी मुलुकभन्दा छुट्टै पारस्परिक सहयोग भएको समाज हो । मैले मेरी आमालाई म भन्दा दोस्रो दर्जामा राखिनँ । चेलीको अस्मिताको प्रश्न सबैको हो । एमाले यहाँसम्म पुग्नुमा महिलाको हात छ । निर्वाचनपछि टर्च बालेर एमालेलाई खोज्नुपर्छ भन्नेहरुलाई अब निर्वाचनपछि टर्च बालेर खोज्नुपर्छ । आत्मानिर्भर बन्न नयाँ क्षमता खोज्यौं। घर फर्किएपछि नयाँ चिज केही गरौं । साना कामबाट नयाँ काम गरौं । म सबैलाई भन्न चाहन्छु ।’