कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया अस्पतालबाटै हाजिरी जमानीमा रिहा
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया बुधबार हाजिरी जमानीमा रिहा भएका छन् ।
गत मंगलबार दोहोरो नागरिकता प्रकरण सम्बन्धी काठमाडौंबाट पक्राउ परेका सिरोहिया अहिले ललितपुरको मेडिसिटी अस्पतालमा रहेका हुन् । सिरोहियालाई हाजिर जमानतमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।
प्रहरीले सिरोहियालाई हाजिरी जमानतमा रिहा गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयलाई आग्रह गरेको थियो । प्रहरीको आग्रह अनुसार सिरोहियालाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानमा रिहा गरिदिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले स्वीकृति दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई ललितपुर प्रहरीले मेडिसिटी अस्पतालबाटै हिरासतबाट मुक्त गरेको छ ।
रिहा भएका सिरोहियाको बुधबार जिल्ला अदालत धनुषामा चौथो पेशी छ । अध्यक्ष सिरोहिया उक्त पेशीका क्रममा काठमाडौंबाटै भिडिओ कन्फरेन्स कलबाट उपस्थित हुने भएका हुन् ।